रौतहटमा बस दुर्घटना, सात भारतीयसहित १० जना घाइते

रौतहट, ९ असार । पूर्व-पश्चिम राजमार्गको रौतहट खण्डमा आज बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये ७ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२१६ नम्बरको बस चन्द्रपुर नगरपालिका-२ मा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डीएसपी दीपक रायका अनुसार, बिहान करिब साढे ४ बजे बस अनियन्त्रित भई सडकबाट करिब ७ फिट तल खसेको थियो । बसमा कुल २५ जना यात्रु सवार रहेकोमा १० जना घाइते भएकाे हो ।

प्रहरीले उपलब्ध गराएको विवरणअनुसार घाइते हुने भारतीय नागरिकहरुमा भारतको सितामढी जिल्लाकी ४४ वर्षीया रेखा देवी, २२ वर्षीया जहदेवी झा, ११ वर्षीय बिसु कुमार पटेल तथा दरभंगा जिल्लाका २६ वर्षीय मोहमद अमज र मोहमद अकिल रहेका छन् । यसैगरी ३८ वर्षीया नरगिस खातुन र २ वर्षीय आयस प्रतिक पनि घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुने नेपाली नागरिकहरुमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ की २३ वर्षीया अनुष्का निगम, जनकपुरकी ३५ वर्षीया सन्तोषी ठाकुर र महोत्तरीको जलेश्वर नगरपालिका-४ की ४३ वर्षीया पुनम ठाकुर रहेको डीएसपी रायले जानकारी दिए ।