पतञ्जली जग्गा हिनामिना प्रकरण: माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं, ११ असार । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ ।

अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

विशेष अदालतको आदेशपछि उहाँ धरौटी बुझाएर आजै (बुधबार) घर जान पाउनुहुनेछ ।

पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियाे ।