यी चार प्रदेशमा धेरै भारी वर्षा हुने, तराईमा हावाहुरी

काठमाडौँ, १२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।