‘काँटा लगा गर्ल’ शेफाली जरीवालाको निधन, बलिउडमा शोकको लहर

मुम्बई,  १४ असार । चर्चित भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ। ४२ वर्षीया शेफालीको शुक्रबार राति मुम्बईको अन्धेरीस्थित निवासमा हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शुक्रबार राति करिब ११ बजेतिर छाती दुख्ने गुनासो गरेपछि उनका पति पराग त्यागीले उनलाई तत्कालै नजिकैको बेलेव्यू मल्टिस्पेशालिटी अस्पताल लगेका थिए। तर, अस्पताल पुग्नुअघि नै शेफालीको मृत्यु भइसकेको चिकित्सकहरूले पुष्टि गरेका छन्। अस्पतालका डा. सुशान्तका अनुसार, “हामी शवलाई पोस्टमार्टमका लागि कूपर अस्पताल पठाउँदैछौं।” अस्पतालका अर्का चिकित्सक डा. लुलाले पनि यो खबर अस्वीकार नगरेका तर बिरामीको गोपनीयताका कारण थप विवरण दिन नसक्ने बताएका छन्।

शेफाली जरीवाला ‘काँटा लगा’ म्युजिक भिडियोबाट रातारात स्टार बनेकी थिइन्। सन् २००२ मा आएको उक्त सुपरहिट गीतले उनलाई ‘काँटा लगा गर्ल’को उपनाम दिलाएको थियो। त्यसपछि उनले अक्षय कुमार र सलमान खानसँग फिल्म ‘मुझसे शादी करोगी’ मा अभिनय गरेकी थिइन्। साथै, उनी ‘बिग बोस १३’ र विभिन्न डान्स रियालिटी शोमा पनि सहभागी भएकी थिइन्।

शेफालीको निधनको खबर भाइरल बयान, विरल बयानी जस्ता चर्चित बलिउड पत्रकारहरूले सामाजिक सञ्जालमा पुष्टि गरेका छन्। अस्पतालका कर्मचारीहरूले पनि अस्पताल पुग्नुअघि नै शेफालीको मृत्यु भएको जानकारी दिएका छन्। हाल परिवारबाट भने औपचारिक बयान आइसकेको छैन।

उनको निधनले बलिउड तथा उनका फ्यानहरूमा शोकको लहर छाएको छ। सामाजिक सञ्जालमा सेलिब्रिटी तथा दर्शकहरूले शेफालीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। मुम्बई प्रहरी र फरेन्सिक टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण सार्वजनिक हुने जनाइएको छ।