राजन र सन्तोषीलाई रोड रेस उपाधि
काठमाडौँ, असार १४ । त्रिभुवन आर्मीका राजन रोकाया र सन्तोषी श्रेष्ठले शनिबार पाँचौँ बीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् ।
वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गत बीर गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा काठमाडौँमा भएको रोड रेसमा पुरुषतर्फ राजनले ३१ मिनेट २२ सेकेण्डमा दौड पूरा गरे । उनका सहकर्मी खड्क बहादुर खड्का ३१ मिनेट ५५ सेकेण्डमा दौड समाप्त गर्दै दोस्रो भए । मुकेश बहादुर पालले ३२ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। बागलुङका तीर्थ पुन चौथो र केन्याका जुलियस मुरीउकीले पाँचौँ स्थान प्राप्त गरे ।
महिलातर्फ राष्ट्रिय कीर्तिमानी धाविका सन्तोषीले ३८ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै उपाधि जितिन् । त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपानेले ३९ मिनेट १९ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन् । एपीएफका आशा रावतले ४० मिनेट २७ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । सोही क्लबकी फूलमति राना ४० मिनेट २७.०१ सेकेण्डमा दौड समाप्त गर्दै चौथो भइन् ।
दरबारमार्गस्थित एडिडास शोरुमबाट बिहान ७ बजे सुरु भई भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमै समाप्त भएको थियो ।
प्रतियोगितामा विभागीय टिम, संघसंस्था, विद्यालय–कलेज, विदेशी धावकसहित करीब ५५० खेलाडीहरूको सहभागिता रहेको थियो ।
पुरुष तथा महिला दुवैतर्फ प्रथम स्थान प्राप्त गर्ने खेलाडीले नगद ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले गर्नुभयो ।
आयोजकका अनुसार प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च भएको छ। इसपालि दौडको कोर्ष रेकर्ड भने भङग हुन सकेन। महिलातर्फ राजपुरा पछाईको ३६ मिनेट ४३.२ सेकेण्ड र पुरुषतर्फ गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेण्ड कोर्ष रेकर्ड कायम छ ।