प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय धान दिवसको शुभकामना
काठमाडौँ, १५ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस, माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो, आज देश बाहिर भए पनि बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ ।”
प्रधानमन्त्री ओलीले सन्देशमा रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउनका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको पनि उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीकाे सन्देशमा भनिएको छ, “कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दही चिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।”