मङ्सिर १ देखि कोरियन भाषा परीक्षा, ७६ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने

काठमाडौं, २८ असोज । दक्षिण कोरिया रोजगारीका लागि आवश्यक कोरियन भाषा परीक्षा आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले परीक्षा तालिका सार्वजनिक गर्दै यसपटक सेवा र वन क्षेत्रसमेत थप गरेको जनाएको छ।

यसअघि उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रमा मात्रै परीक्षा सञ्चालन हुँदै आएकोमा यसपटकदेखि सेवा र वन क्षेत्रमा पनि परीक्षा सञ्चालन हुन लागेको हो।

परीक्षा तालिकाअनुसार सेवा क्षेत्रमा नोभेम्बर १७ देखि, वन क्षेत्रमा नोभेम्बर १८ देखि र कृषि तथा पशुपालन क्षेत्रमा नोभेम्बर २० देखि परीक्षा सञ्चालन हुनेछ। उत्पादनमूलक क्षेत्रको परीक्षा भने डिसेम्बर ११ देखि सुरु हुनेछ। नोभेम्बर १७ देखि सुरु हुने परीक्षा सन् २०२७ फेब्रुअरी २५ सम्म सञ्चालन हुने जनाइएको छ।

ईपीएस भाषा परीक्षाका लागि यसपटक ७६ हजार १७३ जनाले आवेदन दिएका छन्। तीमध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी ५३ हजार १०३ जनाले आवेदन दिएका छन्। त्यस्तै, कृषि तथा पशुपालन क्षेत्रमा २० हजार ९०७, वन क्षेत्रमा एक हजार १२४ र सेवा क्षेत्रमा एक हजार ३९ जनाले आवेदन दिएका छन्।

दक्षिण कोरिया रोजगारीका लागि नेपाली युवायुवतीबीच प्रतिस्पर्धा उच्च रहने गरेको छ। ईपीएस लागू भएका १८ देशमध्ये नेपालमा परीक्षार्थीको प्रतिस्पर्धा बढी हुने भएकाले उत्तीर्ण हुन कठिन हुने गरेको विवरणमा उल्लेख छ।

सन् २००८ देखि २०२४ सम्म ईपीएस परीक्षाका लागि आठ लाख ३८ हजार ८३२ जनाले आवेदन दिएका थिए। तीमध्ये सात लाख ४१ हजार १६५ जना परीक्षामा सहभागी भएका र एक लाख ३२ हजार ६०० जना उत्तीर्ण भएका थिए। यसअनुसार उत्तीर्ण दर १७.९ प्रतिशत रहेको छ।

उत्तीर्णमध्ये हालसम्म एक लाख २१ हजार ७३१ जना दक्षिण कोरिया प्रस्थान गरिसकेका छन्। कोरिया जान भाषा परीक्षा उत्तीर्ण गर्नु मात्रै पर्याप्त हुँदैन। त्यसपछि सीप परीक्षणमा समेत उत्तीर्ण हुनुपर्ने छ।

नेपाल सरकार र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी सम्झौता भएको थियो। त्यसयता हालसम्म करिब एक लाख २१ हजार नेपाली श्रमिकले ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारी पाइसकेको विवरणमा उल्लेख छ।

सन् २०२५ मा मात्रै विभिन्न क्षेत्रमा ११ हजार १७८ जना नेपाली कामदार दक्षिण कोरिया पुगेका थिए। कोरियास्थित अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२६ फेब्रुअरीसम्म त्यहाँ बसोबास गर्ने नेपालीको कुल सङ्ख्या ९४ हजार १९४ पुगेको छ। सुरुवाती चरणमा भाषा परीक्षा उत्तीर्ण गरेपछि कोरिया जान सकिने व्यवस्था रहेकामा सन् २०१९ देखि भाषा परीक्षासँगै सीप परीक्षणसमेत अनिवार्य गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *