लुम्बिनीमा एक चौथाइ पनि रोपाइँ सकिएन, प्यूठानमा ८२ प्रतिशत हुँदा गुल्मीमा जम्मा ५ प्रतिशत

लुम्बिनी, १५ असार। लुम्बिनी प्रदेशमा यस वर्ष असार १५ सम्ममा करिब २४ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार, धान खेती हुने कुल ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ७२ हजार ५२० हेक्टरमा मात्र रोपाइँ सकिएको हो।

प्रदेशका विभिन्न जिल्लाहरूमा रोपाइँको अवस्था भने निकै फरक देखिएको छ। पहाडी जिल्ला प्यूठानमा सबैभन्दा बढी ८२ प्रतिशत रोपाइँ सकिँदा अर्को पहाडी जिल्ला गुल्मीमा भने जम्मा ५ प्रतिशत मात्र रोपाइँ भएको छ।

प्रदेशका प्रमुख धान उत्पादक जिल्लाहरू मानिने कपिलवस्तु, रुपन्देही, दाङ र बर्दियामा पनि रोपाइँको गति सुस्त छ। कपिलवस्तुमा ४,६११ हेक्टर, रुपन्देहीमा २१ प्रतिशत, दाङमा ६,३२८ हेक्टर र बर्दियामा १३,७१४ हेक्टरमा रोपाइँ सकिएको छ।

प्रदेश सरकारले धान उत्पादन बढाउन बीउबिजन, सिँचाइ, प्रविधि हस्तान्तरण र चैते धान प्रवर्द्धन जस्ता कार्यक्रम सञ्चालन गरिरहेको कृषि विकास निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो। यसका साथै, राष्ट्रिय धान दिवसको अवसरमा प्रदेश सरकारले लुम्बिनीलाई ‘अर्गानिक प्रदेश’ बनाउने अभियान सुरु गरेको कृषिमन्त्री दिनेश पन्थीले बताउनुभयो। यो अभियान रुकुमपूर्वबाट थालनी गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *