पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं, १५ असार । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ ।
विशेष अदालत, काठमाडौंले आइतबार बस्नेतमाथिको थुनछेक बहसपछि आदेश जारी गर्दै २५ लाख धरौटी माग गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान र थुनछेक भएको थियो ।
बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । अख्तियारले मुद्दा दायर गरेपछि बस्ने सांसद पदबाट निलम्बनमा परेका थिए ।