प्रधानमन्त्री ओलीद्वारा नागरिक समाजको प्लेनरीसत्रको समापनमा सम्बोधन
सेभिया (स्पेन), १६ असार । संयुक्त राष्ट्रसंघको एक महत्वपूर्ण सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन गर्नुभएको छ ।
उहाँले ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ अन्तर्गत आयोजित नागरिक समाज मञ्च (Civil Society Forum) को समापन सत्रलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभएको हो ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघद्वारा आयोजित उक्त उच्चस्तरीय सम्मेलनमा भाग लिने क्रममा स्पेनमा हुनुहुन्छ । सोही सम्मेलनको एक महत्त्वपूर्ण अंगको रूपमा रहेको नागरिक समाजको कार्यक्रममा उहाँको सम्बोधनले विकासका मुद्दामा नेपालको दृष्टिकोणलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुर्याएको छ ।
विकासका लक्ष्यहरू प्राप्त गर्न नागरिक समाजको भूमिकालाई विश्वव्यापी रूपमै महत्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा नेपालका प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिनुले विकास प्रयासहरूमा नेपालको संलग्नता र प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय समुदायले महत्व दिएको रूपमा हेरिएको छ ।