राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी सम्मेलन सुरु, प्रधानमन्त्री ओली सहभागी
सेभिया (स्पेन), १६ असार । संयुक्त राष्ट्रसंघको आयोजनामा ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन स्पेनको सेभियामा सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले सम्मेलनको उद्घाटन सत्रमा सहभागिता जनाएको छ ।
विश्वव्यापी आर्थिक चुनौतीहरूको सामना गर्दै दिगो विकासका लक्ष्यहरू हासिल गर्न आवश्यक वित्तीय स्रोत जुटाउने उपायबारे छलफल गर्न यो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा विभिन्न राष्ट्रका सरकार प्रमुख, मन्त्रीहरू, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहेको छ ।
नेपालजस्ता अल्पविकसित तथा भूपरिवेष्ठित राष्ट्रहरूका लागि विकास-वित्तको पहुँच र अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्ने विषयमा प्रधानमन्त्री ओलीले नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
नेपाली प्रतिनिधिमण्डलले सम्मेलनको अवसरमा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकहरूमा पनि सहभागी भई लगानी आकर्षण र सहकार्य विस्तारका लागि पहल गर्नेछ । यो सम्मेलनले विकासशील राष्ट्रहरूको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न ठोस कार्ययोजना तय गर्ने विश्वास लिइएको छ ।