राष्ट्रियसभा बैठक सुरु, बजेट पारित गर्ने मुख्य कार्यसूची

काठमाडौँ, १८ असार । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक सुरु भएको छ। बैठकको मुख्य कार्यसूची सरकारको वार्षिक बजेटसँग सम्बन्धित विधेयकहरूलाई टुंगो लगाउनु रहेको छ।

आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०८२’ लाई पारित गर्नका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसका साथै, विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम पनि तय भएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग तथा विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमा सांसदहरूले उठाएका जिज्ञासामाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि विचार गरियोस् भनी सभासमक्ष पेस गर्ने कार्यसूची छ। त्यसैगरी, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘भन्सार विधेयक, २०८०’ माथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि आजै पेस हुनेछ।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा जानकारी गराउने कार्यक्रम रहेको छ।