पूर्वपश्चिम राजमार्गको विनयी खोलामा नयाँ पक्की पुल सञ्चालन
काठमाडौं, १९ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण सम्पन्न भएको नयाँ पक्की पुल बुधबारदेखि सञ्चालनमा आएको छ ।
पुल सञ्चालनमा आएसँगै बर्खाको समयमा बाढीले डाइभर्सन बगाउँदा पटक-पटक सडक अवरुद्ध हुने र यात्रुले सास्ती खेप्नुपर्ने समस्याको अन्त्य भएको छ ।
यसअघि पुरानो पुल क्षतिग्रस्त भएपछि बनाइएको डाइभर्सन सामान्य बाढी आउँदा पनि बग्ने गर्दा राजमार्गमा यातायात ठप्प हुने गरेको थियो । डाइभर्सन बगाएपछि सवारी साधन घण्टौँसम्म जाममा फस्ने र यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको थियो ।
नागढुंगा–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले आजदेखि नयाँ पुल पूर्ण रूपमा सञ्चालनमा आएको र यसले राजमार्गको यात्रालाई सहज बनाएको जानकारी दिनुभयो ।