करको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी, पसल बन्द गरेर र्‍याली

काठमाडौँ, २० असार । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत लगाएको नयाँ करको विरोधमा सुनचाँदी व्यवसायीहरूले शुक्रबार पसल बन्द गरेर सडकमा प्रदर्शन गरेका छन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त अगुवाइमा व्यवसायीहरूले काठमाडौँको माइतीघर मण्डलबाट विरोध र्‍याली निकालेका हुन् । उनीहरूको आन्दोलनमा कालिगढ तथा मजदुरहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

व्यवसायीहरूको मुख्य माग बजेटमा थपिएको २ प्रतिशत विलासिता कर र रत्न-पत्थरमा लगाइएको १३ प्रतिशत कर खारेज गर्नुपर्ने रहेको छ । सरकारको यो निर्णयले आफ्नो व्यवसाय नै धराशायी बनाउने र उपभोक्तालाई समेत मारमा पार्ने उनीहरूको भनाइ छ ।

माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत हुने कार्यक्रम रहेको छ । व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।