वीरगञ्जका सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको अनुगमन, २४ घण्टा सञ्चालन गर्न सुझाव
काठमाडौं, १० कात्तिक । प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन्।
सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत निजी क्षेत्रबाट सञ्चालन भइरहेका ती बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था र सञ्चालन प्रक्रियाबारे जानकारी लिन अनुगमन गरिएको सभापति गजुरेलको निजी सचिवालयले जनाएको छ।
अनुगमनका क्रममा उनीहरूले एकीकरणपछिको सञ्चालन अवस्था, व्यवस्थापकीय प्रभावकारिता, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधारका सम्भावनाबारे जानकारी लिएका थिए। सो अवसरमा पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका सहायक प्रबन्धक कमल ज्ञवाली, सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा तथा एकीकृत जाँचचौकी सञ्चालक कम्पनी टीआरएस लजिपार्कका व्यवस्थापक गणेशप्रसाद घिमिरेसँग छलफल भएको थियो।
सभापति गजुरेलले बन्दरगाहका प्रवेशद्वार २४ घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन सञ्चालक कम्पनीलाई आग्रह गरेका छन्। वीरगञ्ज सुक्खा बन्दरगाहमा मासिक औसत ११० मालवाहक रेल आउने गरेका छन् भने एकीकृत जाँचचौकीमा दैनिक औसत ८०० मालवाहक सवारीसाधन आवतजावत गर्छन्।
गजुरेलले रेलसम्बन्धी पूर्वाधारको प्रभावकारी उपयोग, रेल सञ्चालन व्यवस्थित बनाउने र मालसामान ढुवानी सहज बनाउने विषयमा आवश्यक निर्देशन दिएका छन्। नेपालमा रासायनिक मल आपूर्तिमा रेलमार्गको महत्त्वपूर्ण भूमिका रहेकाले मल आयातसम्बन्धी भन्सार प्रक्रिया सहज र छरितो बनाउन पनि उनले सुझाव दिएका छन्।
