नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नजिक
काठमाडौं, १२ कात्तिक । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन मंगलबार करिब स्थिर रहेको बजारमा बुधबार भने उल्लेख्य सुधार देखिएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स ६.३२ अंकले, फ्लोट इन्डेक्स २.६२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३९ अंकले बढेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार ३४८ कम्पनीका १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर ६३ हजार ७४४ पटकको कारोबारमा ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन बेनी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयरमूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ५३६ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै, बुटवल पावर कम्पनीको सेयरमूल्य साढे १० प्रतिशतभन्दा बढी बढेको छ । सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयरमूल्य पनि ६ प्रतिशतभन्दा बढी उकालो लागेको छ । मूल्य घटेका कम्पनीको गिरावट भने ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
त्यस्तै, घलेम्दी हाइड्रोपावरको २८ करोड रुपैयाँभन्दा बढी र बुटवल पावर कम्पनीको करिब २६ करोड ५० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये बुधबार १२ वटाको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।
यस दिन जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बिमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
