तिहार र छठ नजिकिएसँगै राजविराजमा माटो र बाँसका सामग्रीको व्यापार बढ्यो

सप्तरी, ११ कात्तिक । तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो तथा बाँसबाट बनेका भाँडाकुँडा र पूजाका सामग्रीको व्यापार बढेको छ । चाडपर्वमा यस्ता सामग्री अनिवार्य रूपमा प्रयोग हुने भएकाले दसैँपछि माग बढेको हो ।

तिहारमा प्रयोग गरिने माटोका दियो, कलश र घैला तथा छठपर्वमा आवश्यक बाँसका कोनिया, नाङ्लो र ढाकीलगायत सामग्रीको बिक्री बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले बताउनुभयो ।

उहाँका अनुसार सामान्य समयमा दैनिक करिब एक हजार रुपैयाँको व्यापार हुने गरेकामा दसैँदेखि तिहारसम्म दोब्बर हुने गरेको छ । बाँसका सामग्री बिक्री गर्न थालेको एक दशक भइसकेको बताउँदै उहाँले अन्य समयमा सामान्य व्यापार भए पनि दसैँदेखि छठसम्म राम्रो आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

राजविराज नगरपालिका–२ की ममता झाले तिहार र छठ मधेसका समुदायले विशेष महत्त्वका साथ मनाउने भएकाले माटो र बाँसका सामग्री किन्नैपर्ने बताउनुभयो । विवाह, व्रतबन्ध, मृत्यु संस्कार तथा पूजाआजामा समेत प्रयोग हुने यस्ता सामग्रीको माग चाडपर्वमा अझ बढ्ने उहाँको भनाइ छ ।

मधेसका विभिन्न चाडपर्व र पूजामा माटोका भाँडा तथा बाँसका सामग्रीको विशेष महत्त्व रहेकाले यस मौसममा तिनको कारोबार बढ्ने गरेको उहाँले बताउनुभयो ।

राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने कुमाल समुदायले बनाएका माटाका सामग्री र मरिक (डोम) समुदायले उत्पादन गरेका बाँसका सामग्री स्थानीय बजारमै बिक्री हुनु सकारात्मक भएको बताउनुभयो । यसबाट स्थानीयस्तरमा भएको लगानी स्थानीय बजारमै रहने उहाँको भनाइ छ ।

जिल्लावासीले माटो र बाँसका सामग्री खरिद गर्न अन्य जिल्लामा निर्भर हुनुनपर्ने अवस्थाले स्थानीय उत्पादन र व्यापारलाई प्रोत्साहन मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *