पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, वर्षा जारी रहेकाले सडक खुलाउन सकिएन
बागलुङ, २५ असार । मंगलबार साँझदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
बागलुङ नगरपालिका–१०, दब्ल्याङमा पहिरो गएपछि करिडोर पूर्ण रूपमा बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय, बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार, अविरल वर्षा जारी रहेकाले तत्काल सडक खुलाउने काम सुरु गर्न सकिएको छैन। “पानी रोकिएपछि मात्रै पहिरो पन्छाउने काम सुरु हुन्छ,” उहाँले भन्नुभयो।
प्रहरीका अनुसार, पहिरोले सडक अवरुद्ध गर्नुका साथै केही स्थानमा सडक भासिएको समेत छ, जसले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।