जङ्गलमै बास बसेर पाँच किलोमिटर पदमार्ग निर्माण

काठमाडौँ, मंसिर १३ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका स्थानीयवासीले पर्यटकीयस्थल सोवाङधुरीलाई जोड्ने पाँच किलोमिटर लामो पदमार्ग निर्माण गरेका छन् । दुर्गम र भिरालो भूगोलमा रहेको पदमार्ग निर्माणका लागि स्थानीयवासीले पाँच हप्तासम्म जङ्गलमै बास बसेर श्रमदान तथा काम गरेका हुन् ।

रघुगङ्गा गाउँपालिकाको रु नौ लाख बजेटबाट चिमखोलाको सिसर्कादेखि समुद्री सतहबाट तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीसम्म पदमार्ग निर्माण गरिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष तारा गर्बुजा पुनका अनुसार ३० जना मजदुरले पाँच हप्तासम्म जङ्गलमै बसेर डेढ मिटर फराकिलो पदमार्ग निर्माण गरेका हुन् । भिरालो र अप्ठ्यारो भूभागमा ढुङ्गाको सिँढी बनाउने, झाडी फाँड्ने र माटो काट्ने काम गरी घोडा तथा खच्चडसमेत आवतजावत गर्न सक्ने गरी पदमार्ग तयार पारिएको उहाँले बताउनुभयो ।

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पर्ने सोवाङधुरी प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँबाट धवलागिरि, गुर्जा, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाका साथै सूर्योदय, बागलुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, खोपारा तथा म्याग्दी र पर्वतका ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ ।

चिमखोलास्थित मण्डली युवा क्लबले तीन वर्षअघि सोवाङधुरी जोड्ने पदमार्गको पहिचान गरेको थियो । सोवाङधुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङतातोपानी र दाना हुँदै मुस्ताङको लेतेसम्म पुग्न सकिन्छ । चिमखोलाबाट एक दिनमै सोवाङधुरी पुग्न सकिने स्थानीयवासीले बताएका छन् ।

पर्यटकको सुविधाका लागि यसअघि स्थानीयको पहलमा २० जना क्षमताको आश्रयस्थल, पानी सङ्कलन गर्ने ड्रम र गाउँपालिकाको सहयोगमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पदमार्गको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा थप रु तीन लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो ।

चिमखोला–सोवाङ–दोवा पदमार्गलाई व्यवस्थित र विस्तार गर्न सिसर्का तथा सिजीमा आश्रयस्थल निर्माण र सिजीदेखि थामखर्कसम्म एक किलोमिटर पदमार्ग बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको गाउँपालिकाले जनाएको छ । उक्त योजनाका लागि सङ्घीय सरकारसँग बजेट माग गरिएको छ ।

यसैगरी, म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पहलमा पर्यटन विभागले गत जेठमा दोवा–सोवाङ–चिमखोला पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो । यसअघि टान र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा विसं २०६८ मा धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *