बाढीपहिरोले मुलुकको यातायात सञ्जाल प्रभावित, १० राजमार्ग ठप्प
काठमाडौँ, २५ असार। मनसुनी सक्रियतासँगै देशका विभिन्न स्थानमा आएको बाढी र खसेको पहिरोका कारण १० वटा मुख्य राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
प्रहरी प्रधान कार्यालयले जनाए अनुसार सङ्खुवासभा, पाँचथर, रसुवा, मकवानपुर, म्याग्दी, नवलपरासी, डोल्पा, रुकुमपश्चिम र बझाङ जिल्लाका मुख्य राजमार्गहरूमा यातायात सेवा बन्द भएको हो। जसअन्तर्गत कोशी, मेची, पासाङ ल्हामु, कान्ति लोकपथ, पूर्वपश्चिम, भेरी करिडोर र जयपृथ्वी जस्ता महत्त्वपूर्ण राजमार्गहरू रहेका छन्।
यसका साथै, अवरुद्ध भएका केही सहायक मार्गहरूलाई भने आंशिक रूपमा खुलाइएको छ। बनेपा–भक्तपुर, कालीगण्डकी करिडोर र सहिद राजमार्ग जस्ता सडकखण्डमा हाल एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ।