राष्ट्र बैंकद्वारा शेयर धितो कर्जाको सीमा वृद्धि, एकल ग्राहकले २५ करोडसम्म लिन पाउने
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले शेयर धितोमा आधारित कर्जाको सीमा बढाएको छ।
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले एकल ग्राहकका लागि यस्तो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको हो।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले शेयर बजारका लगानीकर्तालाई राहत दिने गरी यो व्यवस्था गरिएको बताउनुभयो। ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमालाई १५ करोडबाट बढाइ २५ करोड रूपैयाँ पुर्याइनेछ,’ गभर्नर पौडेलले भन्नुभयो।
यसका साथै मौद्रिक नीतिले अन्य विभिन्न व्यवस्थाहरू पनि गरेको छ । चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यकता अनुसार परिमार्जन गरिने, कर्जा नोक्सानी व्यवस्थाको पनि पुनरवलोकन गरिने, तीन करोड रुपैयाँसम्मको कर्जालाई साना तथा मझौला कर्जाको सूचीमा राखिने , दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने जनाइएकाे छ ।