ज्येष्ठ नागरिकको जीवन सम्मानित बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन, तीन महिनाभित्र विधेयक ल्याउने मन्त्रीको प्रतिबद्धता
काठमाडौँ, २७ असार । राष्ट्रियसभाले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन विशेष व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकमा जवाफ दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले तीन महिनाभित्र नयाँ विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सांसद सुमित्रा विसीले प्रस्तुत गर्नुभएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलपछि राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले उक्त निर्देशन दिनुभएको हो।
उहाँले प्रस्तावमा उल्लेखित विषयहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई र त्यसको अनुगमन गर्न सम्बन्धित समितिलाई समेत निर्देशन दिनुभयो।
प्रस्तावमाथि जवाफ दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकका सवालमा सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले यो विषय महिला मन्त्रालयसँग मात्र नभई स्वास्थ्य, कानुन र अर्थ मन्त्रालयसँग पनि जोडिएकाले सबैको सहकार्यमा काम गर्ने उल्लेख गर्नुभयो। “मन्त्रालयले तीन महिनाभित्र ज्येष्ठ नागरिकका सवाललाई सम्बोधन गर्नेगरी विधेयक ल्याउनेछ,” मन्त्री सुडीले भन्नुभयो, “वास्तविक समस्यामा रहेका ज्येष्ठ नागरिकको आर्थिक अवस्थालाई ध्यानमा राखेर नीति बनाइनेछ।”
त्यसअघि प्रस्तावमाथिको छलफलमा भाग लिने अधिकांश सांसदहरूले ज्येष्ठ नागरिकहरू परिवार र समाजबाटै अपहेलित भइरहेको भन्दै उनीहरूको जीवन सम्मानित बनाउन प्रभावकारी कानुनको आवश्यकतामा जोड दिएका थिए।
उनीहरूले ज्येष्ठ नागरिकको अनुभव, सीप र ज्ञानलाई युवापुस्तामा हस्तान्तरण गर्ने वातावरण बनाउन र ज्येष्ठ नागरिकमैत्री नीतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।