कम्पनी रजिस्ट्रार कार्यालयमा अनियमितताको गुनासो, असारभित्र सबै काम सक्न मन्त्रीको निर्देशन
काठमाडौँ, २७ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कम्पनी रजिस्ट्रारको कार्यालयमा थन्किएका सबै फाइल असार मसान्तभित्र टुङ्ग्याउन कडा निर्देशन दिनुभएको छ ।
कार्यालयमा आर्थिक अनियमितता भएको र सेवाग्राहीले सास्ती पाएको गुनासो व्यापक बनेपछि मन्त्री भण्डारीले यस्तो निर्देशन दिनुभएको हो ।
पछिल्लो समय कम्पनी रजिस्ट्रारको कार्यालयमा कर्मचारीले आर्थिक लाभ लिएर मात्र काम गर्ने गरेको, सफ्टवेयरमा जानाजानी समस्या सिर्जना गर्ने गरेको तथा अनलाइन प्रणाली भए पनि सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको जस्ता गुनासाहरू सार्वजनिक भएका थिए ।
गुनासोपछि मन्त्री भण्डारीले कार्यालयलाई प्रत्यक्ष निगरानीमा राख्न र त्यहाँको अनलाइन प्रणाली तथा सीसीटीभीको प्रत्यक्ष अनुगमन गर्न मन्त्रालयको सम्बन्धित महाशाखालाई निर्देशन दिनुभएको छ । निर्देशनलगत्तै मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख जितेन्द्र बस्नेतको नेतृत्वमा एक टोलीले कार्यालयको आकस्मिक अनुगमन गरेको छ ।
अनुगमन टोलीसमक्ष कर्मचारीहरूले भने केही कानुनी र प्राविधिक समस्याका साथै दुईवटा अनलाइन प्रणाली एकैपटक सञ्चालनमा रहँदा काममा ढिलाइ भएको बताएका थिए ।
महाशाखा प्रमुख बस्नेतले देखिएका समस्या समाधानमा मन्त्रालयले सहजीकरण गर्ने तर असार मसान्तभित्र जसरी पनि थाँती काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “दिनरात खटेर भए पनि सेवाग्राहीका सबै काम सक्नुहोस् । आर्थिक अनियमितताको विषयमा शून्य सहनशीलता अपनाइनेछ र कोही दोषी पाइएमा कडा कारबाही हुन्छ ।”
यसअघि मन्त्रालयले कार्यालयलाई एक निर्देशनात्मक पत्र पठाउँदै सेवा प्रवाह प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन गरिएको जानकारी गराएको थियो । पत्रमा आर्थिक वर्षको अन्त्यमा आएका निवेदनहरू तत्काल टुङ्ग्याउन आवश्यक परे बिहान-बेलुका र बिदाको दिनमा समेत कार्यालय सञ्चालन गरी गुनासोरहित सेवा दिन भनिएको छ ।