देशभर मनसुनी वर्षा, चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २९ असार । मनसुनी वायुको प्रभावले हाल देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा केही उत्तरतर्फ सरेकाले वर्षाको सम्भावना बढेको हो ।
महाशाखाले आज दिउँसो र रातिको मौसम पूर्वानुमान जारी गर्दै चार प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी दिएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
राति पनि देशभर मौसम बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना छ ।