आज दुई संसदीय समितिको बैठक, बाढी र वित्तीय संघीयतामाथि छलफल हुँदै
काठमाडौँ, २९ असार । आज संघीय संसदका दुई छुट्टाछुट्टै समितिको बैठक बस्दैछ। बैठकमा बाढीपहिरो र विपद् व्यवस्थापनदेखि वित्तीय संघीयता कार्यान्वयनसम्मका विषयमा छलफल हुनेछ।
संघीय संसद सचिवालयका अनुसार, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सुरु हुनेछ। बैठकको मुख्य एजेन्डा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको विपद् व्यवस्थापन रहेको छ। त्यसैगरी, मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम र बजेटमा उल्लेखित सरकारी आश्वासनहरूको कार्यान्वयन अवस्थाबारे पनि छलफल हुनेछ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान साढे ११ बजे नै बोलाइएको छ। यस बैठकमा वित्तीय संघीयता कार्यान्वयनका विषयमा केन्द्रित रहेर छलफल हुनेछ। विशेषगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेका कामकारबाही, आयोगका सिफारिसहरू र ती सिफारिसको कार्यान्वयन अवस्थाबारे समीक्षा हुने समितिले जनाएको छ।