उपलब्धिको रक्षा र युवा पलायनको सामना आजको मुख्य कार्यभार हो: महासचिव पोखरेल

काठमाडौँ, २९ असार। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु र युवा पलायनले सिर्जना गरेको आर्थिक चुनौतीको सामना गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को २६औँ स्थापना दिवसका अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरूको त्याग र बलिदानबाट प्राप्त अधिकारको रक्षा गर्नु नेपाली समाजको प्रमुख जिम्मेवारी भएकोमा जोड दिनुभयो।

‘राज्य मानव अधिकार विरोधी होइन, रक्षक हो’
महासचिव पोखरेलले लोकतान्त्रिक राज्य जति बलियो हुन्छ, मानव अधिकार त्यति नै सुनिश्चित हुने धारणा राख्नुभयो। “राज्यलाई मानव अधिकार विरोधी भनेर गरिने परिभाषा नै गलत छ, यसले सामाजिक अराजकता बढाउँछ,” उहाँले भन्नुभयो, “सामाजिक अराजकताले अन्ततः राज्यलाई कमजोर बनाउँछ र विकासलाई रोक्छ। लोकतान्त्रिक राज्य मानव अधिकारको रक्षक हो।”

उहाँले वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम छर्ने प्रवृत्तिले देशलाई हित नगर्ने र अन्ततः प्रतिगमनलाई नै सहयोग पुऱ्याउने तर्क गर्नुभयो।

देशको आर्थिक विकासमा देखिएको नयाँ चुनौतीबारे बोल्दै महासचिव पोखरेलले युवा पलायनप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश बन्छ कसरी? काम गर्नेहरू सबै विदेश जाने, अनि देश बनेन भनेर गाली गरेर मात्र हुँदैन। देश बनाउन नागरिकहरू समृद्धिको यात्रामा जुट्नैपर्छ।”

कार्यक्रममा मानव अधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले एमालेलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो भने अध्यक्ष विदुर सुवेदीले मानव अधिकार उल्लङ्घनका घटना बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *