राजस्व बढाउन करदातालाई १०% छुट, सिफारिस दस्तुर निःशुल्क : उपप्रमुख डंगाेल

काठमाडौँ, २९ असार। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि राजस्व संकलनलाई प्रभावकारी र करदातामैत्री बनाउन नयाँ रणनीतिहरू सार्वजनिक गरेको छ।
उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तुत गर्ने क्रममा, समयमै कर तिर्नेलाई १० प्रतिशत छुट दिने, केही सिफारिस दस्तुर निःशुल्क गर्ने तथा करको दायरा विस्तार गर्न विशेष कार्यक्रम ल्याउने घोषणा गर्नुभयो।
आगामी आर्थिक वर्षमा राजस्व असुलीलाई प्रभावकारी बनाउन महानगरले व्यवसायीको कारोबार स्थलमै पुगेर सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ।
करदातालाई प्रोत्साहन: करको दायरामा नआएका नयाँ करदातालाई लक्षित गरी आगामी पौष मसान्तसम्म कर बुझाएमा १० प्रतिशत छुट दिइनेछ।
सेवा शुल्कमा छुट: कर प्रणालीप्रति अपनत्व र विश्वास बढाउन केही शीर्षकका सिफारिस दस्तुरहरू निःशुल्क गरिएको छ।
बहाल करमा सहजीकरण: बहाल कर संकलनलाई सरल बनाउन संघीय सरकारसँगको सहकार्यमा एकद्वार प्रणाली लागू गरिनेछ।
करको दायरा विस्तार: करको वैज्ञानिक विश्लेषण र दायरा फराकिलो बनाउन विज्ञहरू तथा वस्तुगत संघसंस्थाहरूसँग सहकार्य गरिनेछ।
यी नीतिहरूले महानगरको राजस्व वृद्धिमा सघाउ पुऱ्याउनुका साथै करदाता र महानगरबीचको सम्बन्धलाई सुमधुर बनाउने अपेक्षा गरिएको छ।