पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, देशैभर मनसुन सक्रिय

काठमाडौँ, ३० असार । देशभर मनसुनी वायु सक्रिय रहँदा अधिकांश स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको सूचना अनुसार, मनसुनको न्यून चापीय रेखा पूर्वमा औसत स्थानमा र पश्चिममा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेको छ । यसैको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको पूर्वानुमान गरिएको हो ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । विशेषगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । साथै, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस क्रममा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।