गत वर्षको तुलनामा रोपाइँ सुस्त, हालसम्म ५९ प्रतिशत सम्पन्न
काठमाडौँ, ३० असार । यस वर्ष देशभर धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ। कृषि विकास मन्त्रालयका अनुसार असार २९ गतेसम्म देशभर कुल ५९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ८ प्रतिशतले कम हो। हालसम्म कुल आठ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।
प्रदेशगत रूपमा हेर्दा, सुदूरपश्चिम प्रदेश रोपाइँमा सबैभन्दा अगाडि छ। त्यहाँ ९३ प्रतिशत अर्थात् करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ। त्यसैगरी, कर्णाली प्रदेशमा ८३ प्रतिशत (६४ हजार हेक्टर) र लुम्बिनी प्रदेशमा ७३ प्रतिशत (दुई लाख २३ हजार हेक्टर) रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
गत वर्ष यसै अवधिमा करिब ६७ प्रतिशत रोपाइँ भएको थियो। मौसमको प्रतिकूलता, अतिवृष्टि तथा अनावृष्टिका कारण कतिपय क्षेत्रमा रोपाइँ ढिलो हुन पुगेको हो। यद्यपि, रोपाइँ जारी रहेको र आगामी साउन महिनाको अन्त्यसम्ममा ९८ प्रतिशत रोपाइँ सम्पन्न हुने मन्त्रालयको अनुमान छ।
कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार धान उत्पादनमा तराई क्षेत्रको योगदान सबैभन्दा बढी (७० प्रतिशत) छ भने पहाडी क्षेत्रको योगदान ३० प्रतिशत रहेको छ। नेपालमा करिब १४ लाख हेक्टर जमिनमा धान खेती हुने गर्छ र यसको उत्पादनमा हुने १० प्रतिशतको घटबढले कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले असर पार्छ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ५७ लाख २४ हजार मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष उन्नत बीउबिजन र प्रविधिको प्रयोगले उत्पादन बढ्ने अनुमान गरिएको छ। मन्त्रालयका अनुसार यस वर्ष अनुमानित ६० लाख मेट्रिकटन धान उत्पादन भई करिब ३५ लाख मेट्रिकटन चामल उपलब्ध हुने अपेक्षा छ।