दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
दाङ, ३१ असार । दाङमा आइतबार भएका दुई छुट्टाछुट्टै दुःखद घटनामा चार जना किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, बबई नदीमा डुबेर दुई जनाको र मोटरसाइकल दुर्घटनामा परी अन्य दुई जनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार, तुलसीपुर उपमहानगरपालिका–२ का १७ वर्षीय विधान केसी र १६ वर्षीय कुशल बुढामगरको बबई गाउँपालिका–४ स्थित पुरन्धारा छहरा नजिक बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । साथीहरुसँग घुम्न गएका उनीहरुको शव पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय हापुरेले जनाएको छ ।
यसैगरी, घोराही–रामपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–४ को सिस्नेखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहका अनुसार, रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा७प ३२७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । घाइते दुवै जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको र शव सोही अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।