सिद्धबाबा सुरुङमार्ग निर्माण तीव्र, भौतिक प्रगति ५७ प्रतिशत नाघ्यो

पाल्पा, ३१ असार । राष्ट्रिय गौरवको आयोजना, सिद्धबाबा सुरुङमार्गको निर्माण कार्यले तीव्रता लिएको छ । पाल्पाको तिनाउ गाउँपालिकास्थित सिद्धार्थ राजमार्गको जोखिमपूर्ण खण्डमा निर्माणाधीन सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै कामले गति लिएको हो । आयोजनाका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।

आयोजनाकी इन्जिनियर सविता ज्ञवालीका अनुसार, सुरुङमार्गको भौतिक प्रगति ५७.५१ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ । हाल सुरुङभित्रको भुइँ ढलान (इन्भर्ट) र पर्खालको लेपन (लाइनिङ) गर्ने काम भइरहेको छ । मुख्य सुरुङको १,०८९ मिटर खण्डमध्ये अधिकांशमा ढलान र लाइनिङको काम सकिएको छ भने तीनवटा बाइपास सुरुङको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
आयोजना प्रमुख कृष्णराज अधिकारीले ढलान र लाइनिङको काम सकिएलगत्तै लाइटिङ, सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिने बताउनुभयो । अत्यावश्यक सवारीसाधनका लागि सुरुङमार्ग सञ्चालनमा आइसकेको छ ।

यो सुरुङमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले निर्माण गरिरहेको छ । २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको कुल लागत सात अर्ब ३४ करोड रुपैयाँभन्दा बढी छ ।

सिद्धार्थ राजमार्गको यो खण्ड पहिरोको अत्यधिक जोखिममा रहेकाले सुरक्षित यात्रा सुनिश्चित गर्न सुरुङमार्ग निर्माण गरिएको हो । यो मार्ग पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङलगायतका जिल्ला जोड्ने प्रमुख राजमार्ग हो । सुरुङमार्गको काम समयमै सम्पन्न गर्न जनप्रतिनिधि र सरोकारवालाहरूले नियमित अनुगमन गरिरहेको प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले बताउनुभयो ।