डेंगु नियन्त्रणका लागि चार महिना निर्माणका काम रोकौँ : स्वास्थ्यमन्त्री पौडेल

 

काठमाडौं, ३२ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगुको बढ्दो जोखिमलाई मध्यनजर गर्दै साउनदेखि कात्तिकसम्म चार महिनाका लागि सबै प्रकारका निर्माण कार्य रोक्न प्रस्ताव गरेका छन्। बुधबार ‘साउन डेंगु सचेतना महिना’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि यो कठोर कदम आवश्यक रहेको बताएका हुन्।

मन्त्री पौडेलले निर्माण कार्यका कारण जथाभावी फालिने सामग्री र बन्ने खाल्डाखुल्डी डेंगु फैलाउने लामखुट्टेको लार्भाका लागि प्रमुख प्रजनन स्थल बनेको औंल्याए। “साउनदेखि कात्तिकसम्म ४ महिना कुनै पनि निर्माणको काम नगरौँ। निर्माणका सामग्री यत्रतत्र नफालौँ। कहीँ पनि खाल्डो नखनौँ,” उनले भने, “यो ४ महिना कतै पनि पानी जम्न नदिने हो भने डेंगु नियन्त्रणमा ठूलो सफलता मिल्छ।”

उनले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा तत्काल लाग्न आह्वान गर्दै डेंगुको लार्भा उत्पादन हुने आधार क्षेत्रहरू नष्ट गर्न देशव्यापी सरसफाइ अभियान चलाउनुपर्नेमा जोड दिए। विशेषगरी जथाभावी फालिएका टायरहरू व्यवस्थापन गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे।

डेंगु नियन्त्रणका लागि जनचेतना सबैभन्दा महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री पौडेलले भने, “प्रत्येक व्यक्तिमा चेतना फैलाउन जरुरी छ। हामी सबै मिलेर संयुक्त ढंगबाट यो अभियानलाई अघि बढाउनुपर्छ।” उनले प्रत्येक नागरिकलाई आफ्नो घर र वरपरको वातावरण सफा राख्न तथा पानी जम्न नदिन आग्रह गरे।

साथै, मन्त्री पौडेलले साउनदेखि कात्तिकसम्म हरेक शुक्रबारलाई सरसफाइ दिवसको रूपमा मनाएर प्रभावकारी ढंगले सरसफाइ अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन्।