पहिरोले उपल्लो मुस्ताङ जाने कागबेनी-कोरला सडक अवरुद्ध
मुस्ताङ, ३२ असार । गए रातिको अविरल वर्षाका कारण मुस्ताङको कागबेनी-कोरला सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने यस सडकको मानेभिरमा चट्टानसहितको ठूलो पहिरो खसेपछि आज बिहानैदेखि उपल्लो मुस्ताङसँगको सीधा यातायात सम्पर्क टुटेको हो।
जिल्ला प्रहरी कार्यालय, मुस्ताङका अनुसार, कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ रहेको मानेभिरमा पहिरो गएको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाले वर्षाका कारण सडकमाथिबाट चट्टान खसेर बाटो पूर्ण रूपमा बन्द भएको जानकारी दिनुभयो।
अवरुद्ध सडक खुलाउनका लागि डोजरसहितको टोली घटनास्थलमा पठाइएको डीएसपी लामाले बताउनुभयो। उहाँले भन्नुभयो, “माथिबाट ठूला-ठूला चट्टान खसेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्न सक्छ।”
यद्यपि, तत्कालका लागि मोटरसाइकल र अन्य साना गाडी आवतजावत गर्न मिल्ने गरी पहिरो पन्छाउने काम भएको छ। सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङ जाने-आउने सवारीसाधनहरू रोकिएका छन्।
यसैबीच, निरन्तरको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाव पनि निकै बढेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ।