वर्षौंदेखिको भूमि समस्या समाधान गर्ने विधेयक चाँडै पारित हुने सभामुखको विश्वास

झापा, ३२ असार। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक छिट्टै पारित हुने बताउनुभएको छ।

उहाँले उक्त विधेयक कानुन बनेपछि वर्षौंदेखि अल्झिएका भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा (धनीपूर्जा) वितरण गर्ने कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो।

विगतमा आयोगहरूले काम गरे पनि महँगो राजस्वका कारण धेरैले धनीपूर्जा लिन नसकेको स्मरण गर्दै उहाँले वर्तमान सरकारले राजस्व दर घटाएर ५ प्रतिशतमा झारेपछि सहज भएको बताउनुभयो।

“धेरै सुकुम्बासीहरूले वर्षौंदेखि बसेको जग्गाको धनीपूर्जा पाएका छैनन्,” सभामुख घिमिरेले भन्नुभयो, “अब बन्ने कानुनले त्यस्ता सबै समस्याको दिगो समाधान गर्नेछ।” उहाँले राष्ट्रिय भूमि आयोगले गरिरहेको कामको प्रशंसा समेत गर्नुभयो।

सो कार्यक्रममा अर्जुनधारा नगरपालिका–११ का ९६ अव्यवस्थित बसोवासी परिवारलाई धनीपूर्जा वितरण गरिएको थियो। सभामुख घिमिरेले १० जना ज्येष्ठ नागरिकलाई प्रतीकका रूपमा धनीपूर्जा हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *