सर्लाहीमा ट्रकमा करेन्ट लागेर सहचालकको मृत्यु, दुई घाइते

सर्लाही, १ साउन । सर्लाहीको लालबन्दीमा धानको भुस लोड गर्ने क्रममा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहटको वृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय सहचालक दिनेश पासवान रहेका छन् । सोही घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन् ।

लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिकै, न्यु माँ राजदेवी राइस मिलका लागि रौतहटबाट धानको भुस लिएर आएको ना ६ ख ७५५० नम्बरको ट्रकले आज बिहान करिब पौने ७ बजे भुस लोड गर्दा बिजुलीको तारमा छुन पुगेको थियो । ट्रकमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुँदा उनीहरु घाइते भएका थिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय, नवलपुरको टोलीले घाइतेहरुलाई उद्धार गरी हरिवनस्थित नमुना अस्पताल पठाएकोमा उपचारकै क्रममा दिनेशको मृत्यु भएको हो । घाइते दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।