पाँचथरमा सेप्टिक ट्यांकीमा निस्सासिएर एक मजदुरको मृत्यु, दुई गम्भीर
पाँचथर, २ साउन। पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ मा निर्माणाधीन सेप्टिक ट्यांकीभित्र निस्सासिएर एक जना मजदुरको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर अवस्थामा उपचाररत छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, बुधबार अपराह्न घुर्बिसे पञ्चमी सहकारी संस्थाको भवन निर्माणमा खटिएका ३८ वर्षीय रत्न चेम्जोङ ट्यांकीभित्र पस्दा बेहोस भएका थिए। उनलाई निकाल्न गएका अन्य दुई मजदुर पनि अक्सिजन अभावले बेहोस हुन पुगेका हुन् ।
प्रहरीका अनुसार, घाइतेमध्ये रत्नको इलाम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य घाइतेहरू २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको अवस्था गम्भीर रहेकाले बिर्तामोडको बिर्तासिटी अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।