झापामा डरलाग्दो सडक सुरक्षा अवस्था: एक वर्षमा ९५ को मृत्यु, ५२ हजारभन्दा बढीलाई कारबाही

झापा, ३ साउन । गत आर्थिक वर्ष झापाका लागि सडक सुरक्षाको दृष्टिकोणले निकै चुनौतीपूर्ण रह्यो। जिल्लामा भएका १,२९६ सवारी दुर्घटनामा ९५ जनाले ज्यान गुमाउँदा २ हजारभन्दा बढी घाइते भएका छन्, जसले सडक सुरक्षाको चिन्ताजनक अवस्था देखाउँछ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा दुर्घटना न्यूनीकरणका लागि कारबाहीलाई पनि तीव्र बनाइएको छ। यस अवधिमा सवारी नियम उल्लंघन गर्ने ५२ हजार ८७५ चालकलाई कारबाही गरी ३ करोड ९५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३,१७४ जनामाथि कारबाही गरिएको प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो।

कारबाहीसँगै सचेतना अभियानलाई पनि प्राथमिकतामा राखिएको छ। कार्यालयले ८ हजारभन्दा बढी विद्यार्थी र १,२५० चालकहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षाबारे प्रशिक्षण दिएको छ।

ट्राफिक व्यवस्थापनलाई आधुनिकीकरण गर्न ‘ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टिभीआरएस)’ र अनलाइन जरिवाना भुक्तानी प्रणाली लागू गरिएको पौडेलले बताउनुभयो। उहाँले स्थानीय तह, विद्यालय र सामाजिक संस्थाहरूसँगको सहकार्यले सडक सुरक्षा सुधारमा मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *