प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारतको राजकीय भ्रमणमा जाँदै

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारतको राजकीय भ्रमणमा जानुहुने निश्चित भएको छ।

प्रधानमन्त्री ओली आफ्नो कार्यकालको पहिलो औपचारिक भारत भ्रमणका लागि आगामी भदौ अन्तिम साता (सेप्टेम्बर १६) मा नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ।

प्रधानमन्त्री नियुक्त भएको एक वर्षपछि भारतले उहाँका लागि औपचारिक रूपमा भ्रमणकाे निमन्त्रणा गर्नुभएकाे हाे ।

यद्यपि, यस अवधिमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्यूयोर्क र बैंककमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा साइडलाइन भेटवार्ताहरू भएका थिए, तर दुवै देशका सरकार प्रमुखबाट एक-अर्काको देशमा औपचारिक भ्रमण भएको थिएन।

यो भ्रमणले दुई देशबीचको उच्चस्तरीय राजनीतिक संवाद र सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। साथै, प्रधानमन्त्री ओलीको निमन्त्रणा स्वीकार गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आगामी अक्टोबर वा नोभेम्बर महिनामा नेपालको भ्रमण गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *