मनाङमा पर्यटकको ओइरो: एकै वर्षमा ३७ हजार विदेशी भित्रिए, इजरायली सबैभन्दा बढी

मनाङ, ५ साउन। कोभिड महामारी र बाढीपहिरोको असरलाई पछि पार्दै हिमाली जिल्ला मनाङमा विदेशी पर्यटकको आगमनले कीर्तिमानी उचाइ छोएको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३७ हजार ७३२ जना विदेशी पर्यटकले मनाङको भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), मनाङको तथ्यांकअनुसार, गत वर्ष मनाङ घुम्ने पर्यटकमा पुरुषको संख्या २२,४७७ र महिलाको संख्या १५,२४९ रहेको छ। एक्यापका प्रमुख ढकबहादुर भुजेलका अनुसार, १३४ देशका नागरिक मनाङ पुगेका थिए, जसमा सार्क राष्ट्रका २,५५४ र अन्य मुलुकका ३५,१७८ जना थिए।

यो वर्ष मनाङ भ्रमण गर्नेमा इजरायली नागरिक (४,३५८ जना) सबैभन्दा अगाडि छन्। त्यसपछि क्रमशः फ्रान्स (३,६१६ जना) र जर्मनी (२,८४२ जना) का पर्यटकले मनाङलाई आफ्नो गन्तव्य बनाए।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा जम्मा २२,३७१ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका थिए।
“विश्वकै उत्कृष्ट पदमार्गमध्ये एक अन्नपूर्ण पदमार्ग र तिलिचो ताल जस्ता आकर्षणले मनाङ सधैं पर्यटकको रोजाइमा छ,” प्रमुख भुजेलले भन्नुभयो, “पर्यटकको आगमनले यहाँको स्थानीय अर्थतन्त्रलाई मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई नै टेवा पुर्‍याएको छ।”

यसका साथै, लामो बिदाहरूमा आन्तरिक पर्यटकको चाप पनि निकै बढ्ने गरेको छ। यद्यपि, उनीहरूको व्यवस्थित तथ्यांक राख्ने गरिएको छैन। अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कने गर्दछन्।