प्रेमिकाले गरिन् ब्ल्याकमेलको बदला लिन प्रेमीकाे छुरा प्रहार गरी हत्या: अभियुक्त पक्राउ
जनकपुरधाम, ५ साउन । जनकपुरको एक होटलमा आइतबार बिहान मृत फेला परेका महोत्तरीका ३२ वर्षीय विमलेश यादवको हत्या ब्ल्याकमेलको बदला लिन गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
हत्या आरोपमा उनीसँगै होटलमा बसेकी प्रेमिका, २१ वर्षीया जुली झा पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो।
धनुषा जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै जनाएअनुसार, जुली र विमलेशबीच तीन वर्षअघि फेसबुकबाट सुरु भएको प्रेम सम्बन्ध पछि सहमतिमै शारीरिक सम्बन्धमा परिणत भएको थियो। तर, विमलेशले गोप्यरूपमा खिचेका निजी तस्बिर र भिडियो प्रयोग गरी जुलीलाई ब्ल्याकमेल गर्न थालेका थिए।
प्रहरीलाई दिएको बयानमा जुलीले भनेकी छिन्, “विमलेशले मेरो चरित्र हत्या गर्यो। फेक आईडी बनाएर मेरो परिवार र साथीभाइलाई फोटो/भिडियो पठायो। म जिउँदो लासजस्तै भएकी थिएँ।” लामो समयदेखिको मानसिक यातना सहन नसकेपछि आफूसँग आत्महत्या गर्ने वा विमलेशको हत्या गर्नेबाहेक विकल्प नरहेको उनले बताएकी छन्।
साउन ३ गते विमलेशले जुलीलाई जनकपुरको ‘एसपी एण्ड गेष्ट हाउस’मा बोलाएका थिए। राति अत्यधिक मदिरा सेवन गरेका विमलेशलाई जुलीले छुरा प्रहार गरेको र त्यसपछि उनी आइतबार बिहान करिब ३ बजे होटलको पहिलो तलाबाट नग्न र रक्ताम्य अवस्थामा भुइँमा खसेको प्रहरीले जनाएको छ।
घटनापछि खाली खुट्टा भाग्दै गरेकी जुलीलाई प्रहरीले सीसीटीभी फुटेजको आधारमा आइतबार दिउँसो पक्राउ गरेको थियो। एसपी नरहरि रेग्मीले घटनामा गहिरो मनोवैज्ञानिक असर देखिएको र थप अनुसन्धान भइरहेको बताउनुभएको छ।