ढाकाको एक विद्यालयमा लडाकु विमान खस्दा, १६ जनाको मृत्यु, अधिकांश विद्यार्थी

बङ्गलादेश, ५ साउन । बङ्गलादेशको राजधानी ढाकामा सोमबार एउटा भयानक विमान दुर्घटना भएको छ। एक लडाकु विमान विद्यालय हाताभित्रै खस्दा कम्तीमा १६ जनाको ज्यान गएको छ, जसमा अधिकांश विद्यार्थीहरू परेका छन्। यस घटनालाई देशको हालैका दशकहरूमा भएको सबैभन्दा दुःखद हवाई दुर्घटना मानिएको छ।

जानकारी अनुसार, बंगलादेश वायुसेनाको चिनियाँ-निर्मित F-7 BGI लडाकु विमानले दिउँसो १:०६ बजे नियमित प्रशिक्षण उडान भरेको थियो। तर, उडान भरेको केही क्षणमै विमान नियन्त्रण बाहिर गई ढाकाको मिलस्टोन स्कुल एन्ड कलेज परिसरमा खसेको थियो।

दुर्घटना अत्यन्तै विनाशकारी रह्यो, जसमा १०० भन्दा बढी मानिस घाइते भएका छन्। तीमध्ये ८३ जनाको अवस्था गम्भीर रहेकाले विभिन्न अस्पतालमा भर्ना गरी उपचार थालिएको छ। घटनालगत्तै सुरक्षाकर्मी, सेना र दमकलको टोली घटनास्थलमा पुगेर उद्धार कार्यलाई तीव्रता दिएको थियो र विमानमा लागेको आगो निभाउन सफल भएको थियो।

प्रत्यक्षदर्शी एक विद्यार्थी, शफिउर रहमान शफीले त्यो भयावह क्षणलाई सम्झँदै भने, “हामीहरू क्याम्पसको खेल मैदानमा खेलिरहेका थियौं। एक्कासि कानै फुट्ने गरी ठूलो आवाज आयो र भुइँ नै थर्कियो। हेर्दाहेर्दै एउटा विमान खस्यो र त्यसमा आगोको मुस्लो दन्कियो। केही समयमै सेनाको टोलीले घटनास्थललाई नियन्त्रणमा लियो।”

बंगलादेश सरकारले घटनामा ज्यान गुमाउनेहरूको सम्मानमा मंगलबारलाई राष्ट्रिय शोकको दिन घोषणा गरेको छ। यतिबेला अस्पतालहरूमा घाइतेहरूको उपचार चलिरहेको छ भने मृतकका परिवारजन शोकमा डुबेका छन्। शोकाकुल अभिभावकहरू आफ्ना छोराछोरीको शव पहिचानका लागि अस्पतालमा भेला भएका छन्, जसले गर्दा त्यहाँको वातावरण अत्यन्तै कारुणिक बनेको छ।

अन्तरिम सरकारका प्रधानमन्त्री मुहम्मद युनुसले घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ। उहाँले एक शोक सन्देश जारी गर्दै भन्नुभयो, “यो दुर्घटनाले वायुसेना, विद्यार्थी, शिक्षक, अभिभावक र मिलस्टोन स्कुलका सम्पूर्ण परिवारमाथि पारेको क्षति कहिल्यै पूरा हुन सक्दैन। यो सिंगो राष्ट्रकै लागि एक अत्यन्तै पीडादायी घडी हो।”