नारायणघाट–बुटवल सडक विस्तार: म्याद एक वर्ष थप्ने तयारी

नवलपरासी, ६ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको म्याद चौथो पटक एक वर्षका लागि थपिने भएको छ।

हालसम्म करिब ७० प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाको तेस्रो पटक थपिएको म्याद यही साउन ८ गते सकिन लागेकाले निर्माण कम्पनीसँगको सहमतिमा म्याद थप गर्न लागिएको हो।

सडक विभागका अनुसार, चिनियाँ निर्माण कम्पनीले एक वर्षभित्र ९० प्रतिशत काम सक्ने प्रतिबद्धता जनाएपछि म्याद थप गर्न लागिएको हो। हाल दाउन्नेको कठिन खण्डमा ढलान गर्ने, पुल निर्माण गर्ने र बाँकी सडक कालोपत्र गर्ने कामलाई तीव्रता दिइएको छ। पूर्वी खण्डको ६५ किलोमिटरमध्ये ५६ किलोमिटर सडक कालोपत्र भइसकेको छ।

चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले ठेक्का लिएको यो आयोजना २०७५ सालमा सुरु भएको थियो। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित ११४ किलोमिटर लामो यो सडकको कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेको छ। सडक विभागले अब थपिने म्याद अन्तिम हुने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *