महावीर पुनको आत्मकथाबाट आविष्कार केन्द्रलाई १२ करोड सहयोग

झापा, ६ साउन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा “महावीर पुनः सम्झना, सपना र अविरल यात्रा” को बिक्रीबाट केन्द्रको कोषमा १२ करोड रुपैयाँ जम्मा भएको छ। पुस्तकको दुई लाख १८ हजार प्रति बिक्री भएसँगै उक्त रकम सङ्कलन भएको हो।

केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियानका क्रममा झापाको विर्तामोड आइपुग्नुभएका डा. पुनले उक्त जानकारी दिनुभएको हो। प्रति पुस्तक रु. ७५० मूल्य रहेको यस आत्मकथाको बिक्रीबाट प्राप्त रकम वीरगञ्ज औजार कारखाना सञ्चालन र केन्द्रका अन्य आविष्कारका गतिविधिहरूमा लगानी गरिने उहाँले बताउनुभयो।

झापामा डा. पुनको अभियानलाई स्थानीय स्तरमा व्यापक समर्थन मिलेको छ। विर्तामोड नगरपालिकाले एक कार्यक्रम आयोजना गरी केन्द्रलाई रु. ५० हजार बराबरको पुस्तक खरिद गरेर सहयोग गरेको छ। नगरउपप्रमुख पवित्रा महतरा प्रसाईँले पुनको अभियान देशलाई आत्मनिर्भर बनाउन प्रशंसनीय रहेको बताउनुभयो। त्यसैगरी, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले डा. पुनको लगनशीलता अनुकरणीय रहेको बताउँदै पुस्तक खरिद गरी राष्ट्रिय अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो।

विर्तामोड, दमक, बाह्रदशी र बुद्धशान्ति लगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा पुस्तक खरिद अभियान सञ्चालन भइरहेको छ।

सोमबार विर्तामोडमा आयोजित एक कार्यक्रममा डा. पुनले युवाहरूलाई सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन, देशका लागि आ–आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ।”

उहाँले राष्ट्रिय आविष्कार केन्द्रले हाल १५ प्रकारका कृषि औजारहरू उत्पादन गरिरहेको र ती उपकरणहरू भविष्यमा साना किसानका लागि निकै लाभदायक हुने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *