किशोरलाई बजार पठाएर नक्कली नोटको कारोबार, ९३ हजारसहित दुई जना पक्राउ

नुवाकोट, ९ साउन । नुवाकोट प्रहरीले नक्कली नोट छापी बालबालिकामार्फत बजारमा पठाउने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ। दुप्चेश्वर गाउँपालिकाबाट उनीहरूलाई एक हजार दरका ९३ थान नक्कली नोटसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, मंगलबार रामती बजारमा ६ जना किशोरले नक्कली नोट लिएर किनमेल गर्न खोजेपछि घटना बाहिर आएको हो। सूचनाको आधारमा अनुसन्धान गर्दा प्रहरी ती किशोरहरूमार्फत नोट बनाउने मुख्य योजनाकारसम्म पुग्न सफल भएकाे छ।

पक्राउ पर्नेमा दुप्चेश्वर-७ का ४२ वर्षीय नरबहादुर तामाङ र ४८ वर्षीय भीमबहादुर तामाङ छन्। प्रहरीले किशोरहरूको साथबाट ६९ थान र पक्राउ परेकाहरूको घर खानतलासी गर्दा थप २४ थान नक्कली नोट बरामद गरेको छ।

प्रहरी नायब उपरीक्षक विक्रम लामाले उनीहरूले लामो समयदेखि नक्कली नोट बनाएर गाउँघर र बालबालिकामार्फत चलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो। “घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र नोट छाप्न प्रयोग भएका उपकरणको खोजी भइरहेको छ,” उहाँले भन्नुभयो।

पक्राउ परेका दुवै जनालाई ‘खोटा मुद्रासम्बन्धी कसुर’मा अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोटबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *