लुम्बिनीलाई विश्वकै शैक्षिक केन्द्र बनाउन ८० अर्बको गुरुयोजना, अर्थमन्त्रीद्वारा शिलान्यास

लुम्बिनी, ९ साउन । लुम्बिनीलाई विश्वकै शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्ब रुपैयाँ लागतको महत्त्वाकांक्षी गुरुयोजना सार्वजनिक गरिएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज देवदहमा उक्त गुरुयोजना सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय छात्राबास भवनको शिलान्यास समेत गर्नुभयो।

विश्वविद्यालयलाई सरकारले देवदहमा उपलब्ध गराएको ९२ बिघा जमिनमा यो गुरुयोजना कार्यान्वयन हुनेछ। यसअन्तर्गत अत्याधुनिक शैक्षिक भवन, अनुसन्धान केन्द्र, छात्राबास र अन्य पूर्वाधार निर्माण गरिनेछ, जसले लुम्बिनीलाई बौद्ध दर्शनसँगै आधुनिक शिक्षाको केन्द्र बनाउनेछ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले गुरुयोजना बनाएर मात्रै नपुग्ने भन्दै यसको सफल कार्यान्वयनका लागि विश्वविद्यालयको नेतृत्वलाई तदारुकता देखाउन निर्देशन दिनुभयो। ४० वर्षदेखि लुम्बिनी विकास कोषको गुरुयोजना अझै अपुरो रहेकोतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “पूर्वाधारसँगै शैक्षिक गुणस्तरमा अब्बल बनेर यो विश्वविद्यालय देशकै नम्बर एक र विश्वको रोजाइ बन्नुपर्छ।”

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले गुरुयोजनाले शैक्षिक पर्यटन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो। रजिष्ट्रार डा. तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक त्रिकोणका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

शिलान्यास गरिएको अन्तर्राष्ट्रिय छात्राबास १२ करोड ८३ लाखको लागतमा २० महिनाभित्र निर्माण सम्पन्न हुनेछ, जसमा १०० विद्यार्थी बस्न सक्नेछन्। हाल विश्वविद्यालयमा करिब २०० विदेशीसहित तीन हजार विद्यार्थी अध्ययनरत छन्।