चितवनमा लोडसेडिङ हाेइन मर्मत हो: कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य
काठमाडौं, ११ साउन । नेपाल विद्युत् प्राधिकरणले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने समाचारको खण्डन गरेको छ ।
आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा भइरहेको विद्युत कटौतीलाई लोडसेडिङ भन्न नमिल्ने जिकिर गरे । उनका अनुसार, भरतपुरस्थित १३२/३३ केभी सबस्टेसनको स्तरोन्नति गर्ने र पुरानो कन्डक्टर फेर्ने काम भइरहेकाले आइतबार र सोमबार विद्युत आपूर्ति बन्द गर्नु परेको हो । “पुरानो तारले बढेको लोड धान्न नसकेपछि नयाँ जडान गर्न लागिएको हो, यो प्राविधिक मर्मत कार्य हो, लोडसेडिङ होइन,” शाक्यले भने ।
प्राधिकरणकै चनौली वितरण केन्द्रले जारी गरेको सूचना अनुसार, ३०० एम्पियर मात्रै धान्ने क्षमताको तारमा हाल अत्यधिक गर्मी र सिँचाइका कारण माग बढेर ४५० एम्पियरसम्म पुगेको छ । यही लोड व्यवस्थापन गर्न नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरमा लोडसेडिङको तालिका निकालिएको केन्द्रले जनाएको छ ।
यस समस्याको दीर्घकालीन समाधानका लागि बसेनी सबस्टेसनबाट नयाँ ३३ केभी प्रसारण लाइन निर्माण भइरहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।
यसैबीच, कार्यकारी निर्देशक शाक्यले उद्योगहरूको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधान गर्न गठित समितिको म्याद ३५ दिन थपिएको बताएका छन् । समितिले निर्णय गरेपछि बक्यौता उठाइने र नतिरे लाइन काट्नेसम्मको कारबाही गरिने उनले चेतावनी दिए ।