अविरल वर्षाले देशभरका ८ राजमार्ग पूर्ण बन्द, दर्जनौँ ठाउँमा यातायात प्रभावित
काठमाडौँ, १२ साउन । गएरातिदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका आठ मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार अन्य पाँचवटा सडक खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालनमा छन् ।
पूर्ण रूपमा बन्द हुने राजमार्गहरूमा सङ्खुवासभाको कोशी राजमार्ग, रसुवाको पासाङ ल्हामु र चीन जोड्ने सडक, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, नुवाकोट र जाजरकोटको मध्यपहाडी राजमार्ग, हुम्लाको कर्णाली करिडोर तथा रुकुम पश्चिमको भेरी करिडोर रहेका छन् ।
यस्तै, कालिगण्डकी करिडोर, बेनी–जोमसोम सडक र सहिद राजमार्ग लगायतका सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।