उपत्यकावासीलाई चुहावटरहित पानी वितरण गर्ने पूर्वाधार तयार, पहिलो चरणको आयोजना सम्पन्न

काठमाडौँ, १२ साउन । काठमाडौँ उपत्यकाका बासिन्दालाई स्वच्छ, सफा र चुहावटरहित खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालित ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना’ को पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। मेलम्ची खानेपानी आयोजनाको एक महत्वपूर्ण उप-आयोजनाको रूपमा रहेको यो परियोजना आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) मार्फत कार्यान्वयन गरिएको हो।

आयोजनाले उपत्यकाको पुरानो र जीर्ण भइसकेको खानेपानी वितरण प्रणालीलाई पूर्ण रूपमा विस्थापित गरी अत्याधुनिक पूर्वाधार निर्माण गरेको छ। आयोजना प्रमुख लक्ष्मीराज उपाध्यायका अनुसार, पहिलो चरणमा काठमाडौँका विभिन्न स्थानमा गरी कुल ७४,५०० घनमिटर क्षमताका दशवटा नयाँ पानी भण्डारण पोखरी निर्माण गरिएको छ।

यसका साथै, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट यी नयाँ पोखरीसम्म पानी पुर्‍याउन करिब ७७ किलोमिटर लामो ‘थोक वितरण प्रणाली’ तयार पारिएको छ, जसको क्षमता प्रतिदिन २२ करोड लिटर रहेको छ। निर्देशनालयका प्रवक्ता ई. विकेश बधानथाछेले जानकारी दिएअनुसार, ती पोखरीबाट उपभोक्ताका घर-घरसम्म पानी वितरण गर्न १,०१० किलोमिटरभन्दा बढी नयाँ पाइपलाइन सञ्जाल बिछ्याइएको छ।

“नयाँ वितरण प्रणालीबाट पानी पठाउँदा चुहावटको समस्या लगभग अन्त्य भएको छ,” प्रवक्ता बधानथाछेले भन्नुभयो, “यसले पानीको अनावश्यक क्षति रोकेको छ।”
आयोजनाले नेपाल सरकारको आफ्नै स्रोत परिचालन गरी स्वयम्भू, बालुवाटार, महाराजगञ्ज र चाबहिलजस्ता क्षेत्रमा थप करिब ८०० किलोमिटर वितरण सञ्जालसमेत विस्तार गरेको छ। सम्पूर्ण वितरण प्रणालीलाई प्रविधिमैत्री बनाउँदै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पानीपोखरीस्थित कार्यालयमा ‘स्काडा’ नियन्त्रण कक्ष स्थापना गरिएको छ।

यहीँबाट सबै पोखरीको व्यवस्थापन, पानीको प्रवाह र गुणस्तर (धमिलोपना र क्लोरिनको मात्रा) को स्वचालित रूपमा निगरानी तथा नियन्त्रण गरिन्छ।

खानेपानी आपूर्तिसँगै फोहोरपानी व्यवस्थापनलाई पनि आयोजनाले प्राथमिकता दिएको छ। यसै अन्तर्गत, गुहेश्वरीमा प्रतिदिन तीन करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गर्ने क्षमताको केन्द्र सञ्चालनमा ल्याइएको छ। यस केन्द्रले पशुपति क्षेत्रभन्दा माथिल्लो भेगको फोहोरपानीलाई प्रशोधन गरी स्वच्छ बनाएर बाग्मती नदीमा प्रवाह गर्दै आएको छ।