सिँचाइमा किसानलाई राहत, प्रतियुनिट तीन रुपैयाँमै बिजुली उपलब्ध गराउने निर्देशक शाक्यकाे घोषणा
काठमाडौँ, १३ साउन । नेपाल विद्युत प्राधिकरणले तराई-मधेसका किसानहरूलाई सिँचाइमा ठूलो राहत दिने घोषणा गरेको छ। प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँ पर्ने बिजुली अब सिँचाइ प्रयोजनका लागि मात्र ३ रुपैयाँमा उपलब्ध गराउने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्रमा तत्काल ५०० वटा डिप ट्युबवेल (बोरिङ) जडान गर्ने घोषणा गरेपछि विद्युत आपूर्तिको अवस्था र व्यवस्थापनबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा यो जानकारी दिनुभएको हो।
कार्यकारी निर्देशक शाक्यले मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी सरकारको योजनालाई तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो। उहाँले सुख्खाबाट प्रभावित किसानलाई राहत दिन प्राधिकरण तीव्र गतिमा काम गर्न तयार रहेको बताउनुभयो।
यद्यपि, योजना कार्यान्वयनमा केही चुनौती रहेको शाक्यले औंल्याउनुभयो। उहाँका अनुसार, प्राधिकरण विद्युत जडानका लागि तयार भए पनि कुन-कुन स्थानमा र कति क्षमताका बोरिङ जडान गर्ने भन्नेबारे सम्बन्धित निकायबाट यकिन विवरण आइसकेको छैन। “सिँचाइको लागि अब धेरै समय छैन, करिब डेढ महिना मात्र बाँकी छ। त्यसैले हामीलाई तत्काल बोरिङ जडान हुने स्थान र पम्पको क्षमताको जानकारी चाहिएको छ,” शाक्यले भन्नुभयो।
विवरणको प्रतीक्षा नगरी कामलाई गति दिन शाक्यले प्राधिकरणका कर्मचारीहरूलाई आफैँ फिल्डमा खटेर किसानहरूसँग समन्वय गर्न र आवश्यक जानकारी संकलन गर्न निर्देशन दिनुभएको छ। उहाँले अबको एक महिनाभित्रै बोरिङ जडानको काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ्न जोड दिनुभयो।