कालीगण्डकीको जलस्तर खतराको तहमा: शालिग्राम शिला डुबानमा, तटीय क्षेत्रमा त्रास

पर्वत, १८ साउन । केही दिनदेखिको अविरल वर्षाका कारण कालीगण्डकी नदीको जलस्तर यस वर्षकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ।

नदीको बहाब खतराको तहभन्दा माथि पुग्दा पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला पूर्ण रूपमा डुबानमा परेको छ भने तटीय क्षेत्रका दर्जनौं बस्ती उच्च जोखिममा परेका छन्।

मुस्ताङ, म्याग्दी र बागलुङलगायतका जलाधार क्षेत्रमा भएको भीषण वर्षापछि नदीमा पानीको बहाब ६.४० मिटरको उचाइसम्म पुगेको छ, जुन यस वर्षको सबैभन्दा उच्च मापन हो। बाढीले सेतीवेणीस्थित पवित्र शालिग्राम शिला मात्र नभई दर्शनका लागि बनाइएका पूर्वाधार, सत्तल र संरक्षण तटबन्धसमेत डुबाएको छ। शिला डुबानमा परेपछि पुजारी र पण्डितहरू चिन्तित बनेका छन्।

नदीको बढ्दो बहाबले पर्वतको जलजला, कुश्मा, फलेवास र विहादी गाउँपालिकाका बगरफाँट, वारीबेनी, मालढुङ्गा, नयाँपुल, मोदीवेणी र सेतीवेणीबजार जस्ता तटीय क्षेत्रमा त्रास बढाएको छ। कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिए पनि सेतीवेणी बजारका करिब दुई सय व्यापारी तथा स्थानीयवासी डुबानको त्रासमा छन्।

स्थानीयका अनुसार, वि.सं. २०६६ सालमा आएको बाढीले बजार नै डुबाएको घटनाले उनीहरूलाई सधैं त्रसित बनाउँछ। स्थानीय व्यवसायी विष्णु न्यौपानेले भन्नुभयो, “अहिले शालिग्राम शिला डुबेको छ, तर पानी बजारसम्म आइपुगेको छैन। तैपनि मनमा डर भने कायम छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *